चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रेमिट्यान्स १५.५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा प्रकाशित तथ्यांकअनुसार जेठ मसान्तसम्ममा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १७.२ प्रतिशतले बढेको थियो । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।