Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

हामीले विश्वलाई भन्न सक्नुपर्छ–हात्ती चढेर गैंडा हेर्न आउनुस्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरै भन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गरेका छन् ।

नेकपा (एमाले) को केन्द्रीय पर्यटन तथा नागरिक उडड्यन विभागद्वारा आज आयोजित ‘नेपालमाा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग जस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार गर्न आग्रह गरेका हुन् ।

‘हामीले विश्वलाई भन्न सक्नुपर्छ– बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनु पर्छ । साँच्चैको हिमाल कस्तो हुुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनु पर्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ती चढेर गैँडा हेर्दा थाहा हुन्छ । त्यकारण नेपाल भ्रमण गरौँ ।’

प्रधानमन्त्री ओलीले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिए । उनले धर्ममा विश्वास गर्ने नगर्ने मानिसहरुको स्वतन्त्र अधिकार भए पनि भगवान राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिमा भएका जस्ता ग्रन्थहरुमा उल्लेखित कुराहरुलाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचार प्रसार गर्न डर मान्नु नपर्ने स्पष्ट गरे ।

‘रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाै भने हामीले के गरी खान्छौँ ?’, प्रधानमन्त्री ओलीले भने, ‘विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन् । राम–लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन् । दशरथ यहीँका हुन् । यही कुराहरु मैले भनेको होइन, ग्रन्थहरुमै उल्लेख छ । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले ज्ञानको भूमि भएको, उर्बर भूमि रहेको, विद्वान पुर्खा भएको र पौरखी जनता भएको नेपाल विकसित नहुनु पर्ने कारण आफूले बुझ्न नसकेको बताउँदै दुनियाँमा काम गर्ने जाति भनेर चिनिएको देशका नेपालीले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरख गर्न लाग्नुपर्ने बताए ।