Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी मुछिएका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्ने बताए । उनले सरकारले दुई तिहाइको आडमा सदन चलाउन खोजेको भन्दै आपत्ति समेत जनाएका छन् ।

उनले भने, ‘आज सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसकेको छ । यसरी दुई तिहाइको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी मुछिएको छ । संसारभरि नेपालीहरूको बदनामी भइराखेको यत्रो जल्दोबल्दो भिजिट भिसा प्रकरणमा किन छानबिन समिति गठन गर्नु भएन ? अन्य विषयहरूमा जस्तै भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि पनि छानबिन समिति गठन होस् भन्ने माग राख्न चाहन्छु । यदि भएन भने आज पनि राप्रपाले सदन बहिष्कार गर्नेछ ।’ सांसद सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत संलग्न रहेको आरोप समेत लगाएका छन् ।