Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँचदिन

कांग्रेस सचेतक र माओवादी सांसदबीच भनाभन, बैठक छोडेर हिँडे श्याम घिमिरे

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समितिका सभामपति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन भनेका हुन् ।

आज बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए । सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन् ।  

कांग्रेस सचेतक र माओवादी सांसदबीच भनाभन, बैठक छोडेर हिँडे घिमिरे

समिति बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माबीच भनाभन भएको छ । 

बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न थप समय माग गरेका थिए ।  त्यसपछि शर्माले कुनै पार्टीको ‘ह्वीप’ नमान्ने बताइन् । सहज रूपमा समिति अगाडि बढिरहेको बेला कुनै दलको सचेतकको ह्वीप नमान्ने उनले बताएकी हुन् । “आज आएर फेरि थप समय माग गरिएको छ । हामीलाई कुनै दलको ह्वीप लगाउने काम नहोस् । हामी कसैको ह्वीप मान्न तयार छैनौँ,” उनले भनिन् । 

शर्माले बोल्दै गर्दा घिमिरे रिसाउँदै नियमापत्ति जनाए । “कसले ह्वीप लगायो । मेरो नियमापत्ति छ । म हिँडे,” उनले भने ।  त्यसपछि  समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरे । तर, घिमिरे बैठकबाट निस्किए । अहिले सिंहदरबारमा समितिको बैठक जारी छ ।