Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कर्मचारीतन्त्र मात्र होइन, राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभै अब राजनीतिमा समेत कुलिङ पिरियड आवश्यक रहेको तर्क गरेका छन् ।

नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको तर्क गर्दे उनले भने, त्यस्ताहरुका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ।

विगतमा यस्तो व्यवस्था नभएको कारण कुनै विदेशी नागरिक पनि देशको उप प्रधानमन्त्री जस्तो गरिमामय र सम्वेदनसिल पदमा पुगेको भन्दै उनले भने, ‘यो कटु यथार्थलाई मनन गर्दै  कुलिङ पिरेड राख्न जरुरी छ ।’ 

यसो हुन नसकेमा आज विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले नेपाल राष्ट्र माथि नै खतरा पैदा गर्ने बताए ।

नेता भट्टराईले पार्टी सभापतिज्यूले अब अवकाश लिएर सभापति हुने होइन भनि सकेको अस्थामा अब महाधिबेशन २०८४ अगाडी हुन्छ कि हुदैन भन्ने दुबिधामा बस्न जरुरी नभएको बताए ।

उनले भने- ‘ढिलोमा ०८३ मंसिर भित्र केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालि तयार गरौ।म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन पनि चाहान्छु । देशका पूर्व राष्ट्रपति  र उपराष्ट्रपति पनि फेरी सक्रिय राजनीतिमा फर्कि रहेको र कतिपय राजनीतिक दलहरुमा एउटै मानिस बर्षौ सम्म सभापति भइ रहने अवस्थामा हाम्रो सभापतिज्यूको यो भनाईले हाम्रो पार्टी अरु भन्दा फरक हो भन्ने पजेटिभ सन्देश प्रवाह गरेको छ ।’

बेला बखत देशमा आइ पर्ने राष्ट्रिय संकटको समाधान गर्ने काम पनि कांग्रेस पार्टीले नै गर्ने भन्दै उनले देशलाई आवश्यक पर्नै सबै नीतिहरु पनि कांग्रेस पार्टीले नै बनाउने बताए ।

तर पाटीको भोट पछिल्ला निर्वाचनहरुमा घटिरहेकाले यस्को गम्भीर विश्लेषण गरी कार्य योजना तयार पार्न केन्द्रीय सदस्य भट्टराईले नेतृत्वको ध्यानाकर्षण गराए ।

गुटबन्दीले गर्दा सही मानिस ठिक ठाउँमा नसकेको भन्दै उनले पदको न्यायोचित ढंगबाट वितरण नगरेको कारण रुष्ट कार्यकर्ताको मन जित्न कार्यशैलीमा सुधार गर्छौ भनेर आश्वस्त पार्नुपर्ने बताए ।

नेता भट्टराईले भातृ संस्था सबै विधानअनुसार चल्न नदिइएको गुनासो आएको भन्दै विधान अनुसार चलाउन दिएमा विवाद पनि स्वतःकम भएर जाने उल्लेख गरे । नेता भट्टराईले सामाजिक संजाल पनि संगठन निर्माणको राम्रो प्लेटफर्म रहेको भन्दै यस्को प्रयोग राम्रोसंग गर्नुपर्ने बताए । उनले प्रशिक्षणका कार्यक्रमहरु वाडा र टोल केन्द्रित गर्न समेत सुझाव दिए ।