Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

देउवासँग देशले धेरै अपेक्षा गरेको छ : ज्ञानेन्द्र कार्की

सत्ता साझेदार नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले कतिपय सन्दर्भमा कांग्रेसलाई आफैंबाट चुनौती रहेको बताएका छन् ।

उनले भने, ‘कांग्रेस विभाजित होइन, एक ढिक्का भएर अगाडि बढ्नु पर्दछ । अहिलेको समयको आवश्यकता यही हो । आमनागरिकमा अझै पनि कांग्रेसमाथि विश्वास छ । जनमत कांग्रेसकै पक्षमा छ । म आफैं पनि जिल्ला जाँदा होस् वा आममान्छेसँग अन्तरक्रिया गर्दा कांग्रेसप्रतिको भरोसा घटेको छैन । कांग्रेसप्रतिको त्यो विश्वासलाई कमजोर बनाउन पनि सुनियोजित रूपमा कांग्रेसमाथि आक्रमण भइरहेको छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ ।’


उनले महाधिवेशन समयमा हुन्छ कि हुँदैन भनेर बहस गर्नुको अर्थ नभएको पनि बताएका छन् । नेता कार्कीले भने, ‘महाधिवेशन हामीले नै गर्ने हो । बाहिर मिडियामा महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न गर्नुको साटो हामी सबैले महाधिवेशन गर्नेतर्फ लाग्नु पर्दछ । महाधिवेशन गर्ने जिम्मेवारी एक जना सभापतिको मात्रै होइन, यो सिङ्गो कार्यसमितिकै हो । १४औं महाधिवेशनका बेला पनि सभापति ज्यूमाथि महाधिवेशन कहिले हुन्छ भनेर प्रश्न उठाइने गरिन्थ्यो, तर वैधानिक समयमै महाधिवेशन गराउनु भयो ।’

१५औँ महाधिवेशन केवल औपचारिकताका लागि मात्रै नभई यो देशको भविष्य कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव छ भन्ने सन्देश दिने गरी वडा तहदेखि अधिवेशन गर्नुपर्नेमा उनले जोड दिए । नेता कार्कीले भने, ‘देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको सभापति हुनुहुन्छ । उहाँको नेतृत्वमा कांग्रेस मात्रै होइन, देशले धेरै अपेक्षा गरेको छ । सोसल मिडियाले जनमत बनाउन भूमिका खेल्ने भएकाले वडा तहबाटै सङ्गठित रूपमा सोसल मिडिया सञ्चालनको अभ्यास थाल्नु पर्दछ ।’