Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो

पोखरामा अत्याधुनिक प्रविधिजडित हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण सकेको हो।

निगमको ५५ वर्षे इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी सीप र पुँजीमा विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण सम्पन्न गरेको आयोजना प्रमुख इ. प्रदीपकुमार यादवले जानकारी दिए। २०८० साल साउन १ गते निर्माण सुरु भएको यो डिपो तोकिएको दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको छ। डिपोको उद्घाटन यही साउन महिनामा गर्ने तयारी रहेको छ ।

petrol dipo-pokhara (3)2025-07-04-10-58-33 (1).jpg

विमानस्थल परिसरमै ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ । निगमले अहिले पाँच वर्षका लागि सम्झौता गरेको र यो नवीकरण हुँदै जाने बताएको छ । २०७७ साल चैत २ गते हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएको थियो। तर, विविध कारणले डेढ वर्षपछि २०७९ साल कात्तिक २९ गते मात्रै बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माणकार्य अघि बढाउन सम्झौता भएको थियो। लगत्तै, २०७९ साल पुस १५ मा प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता कार्य सम्पन्न भएको थियो ।

पोखरा विमानस्थलमा १२ सय किलोलिटर क्षमताका ३ वटा ठूला भण्डारण गृह (कूल तीन हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएको छ । डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताका २ वटा फायर फाइटिङ डिजल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, ८ इन्चको पाइपजडित छ । पोखरा विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै १२ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह (कुल ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएको छ । भर्टिकल स्टोरेज ट्यांकको उचाइ १२ मिटर र ब्यास पनि १२ मिटर रहेको छ ।

petrol dipo-pokhara (3)2025-07-04-10-58-33.jpg

त्यस्तै, डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचनलाई आबद्ध गरिएको छ । जसकारण, डिपोलाई उच्च सुरक्षा प्रदान गर्न मद्दत मिलेको छ । हवाई इन्धन जस्तो प्रज्ज्वलनशील पदार्थको नियमित रूपमा कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरालाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ ।

यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ । डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताका दुई वटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, ८ इन्चको पाइप जडित छ ।

भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्नका लागि आवश्यक मात्रामा प्रोडक्ट पम्पहरू तथा लोडिङ-अनलोडिङमा क्रमशः १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको छ। यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामको पाइपहरू अमेरिकन पेट्रोलियम इन्स्टिच्युड (एपीआई) मापदण्डमा आधारित रहेको पनि जनाइएको छ । परियोजनाको कुल लागत अनुमान ७५ करोड (भ्याट बाहेक) रहेको छ ।