Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” सार्वजनिक तथा धान रोपाई कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसर पारेर “धान खेती कर्जा” सार्वजनिक गरेको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लिखित आगामी दुई वर्षभित्र मुलुकलाई धानमा आत्मनिर्भर बनाउने रणनीतिको सहयोगार्थ बैंकले यो कर्जा योजना ल्याएको हो।

यस योजनाअन्तर्गत किसानहरूले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरणहरू तथा अन्य आवश्यक कृषि सामग्रीहरू खरिद गर्नका लागि २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस कर्जाको मुख्य उद्देश्य खेतियोग्य जमिनको सदुपयोग गरी धान खेतीमार्फत किसानको आम्दानी बढाउनु, कृषि पेसालाई मर्यादित र व्यावसायिक बनाउनु तथा किसानहरूलाई प्रोत्साहन गर्नु रहेको बैंकले जनाएको छ।

राष्ट्रिय धान दिवसकै अवसरमा बैंकले टोखा नगरपालिका वडा नं. १, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा धान रोपाई कार्यक्रम पनि सम्पन्न गरेको छ। आइतबार भएको उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू र स्थानीयवासीको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीसहित बैंकका अन्य कर्मचारीहरू र स्थानीयको सहभागिता रहेको थियो। सीईओ रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारको रणनीतिअनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गरी किसानको मनोबल बढाउन बैंकले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको बताए। उनले  धान खेती कर्जाले पनि किसानहरूलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।