Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शुक्लाफाँटामा पाटेबाघको आतंक

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा रातिका बेला पाटेबाघले गोठबाटै चौपाया तानेर खाने घटना दोहोरिन थालेपछि स्थानीय किसान त्रसित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्कने बयस्क पाटेबाघले बस्तीमा पसेर गाईभैँसी जस्ता घरपालुवा जनावरको खान थलेपछि जनजीवन प्रभावित भएको हो ।

गए राति मात्र स्थानीय हेमा धामीको ब्याउने गाईलाई पाटेबाघले गोठबाट तानेर दुई सय मिटर पर लगेर खाएको घटना सार्वजनिक भएको छ । यसअघि देवकी पाण्डेयको लैनो भैँसी र कञ्जडो धामीको गाईलाई पनि गोठमैबाट तानेर बाघले खाएको थियो । केही महिना पहिले गोठमै गाई दुहुँदै गरेकी मानमती धामीमाथि बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । वडा सदस्य जयराज (जीवन¬) पाण्डेयले बाघ साँझ पर्न नपाउँदै बस्तीमा देखा पर्न थालेको बताए । बाघ अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

उनका अनुसार पाटेबाघको निगरानीका लागि निकुञ्ज कार्यालयले चारवटा स्वचालित क्यामेरा जडान गरेको छ । जसमा वयस्क बाघ देखिएको पुष्टि भएको छ । बाघको जोखिम न्यूनीकरणका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली गस्तीमा छ भने वन रक्षकहरूले पनि निगरानी बढाएका छन् ।

स्थानीय शिवी लुहार भन्छन्, ‘बाघ हिजो पनि देखिएको थियो, अस्ति पनि, अहिले त बस्तीमा राति हिँडडुल गर्न पनि डर लाग्न थालेको छ, कहिले मानवीय क्षति हुन्छ भन्ने चिन्ता बढेको छ ।’ बाघ मात्र होइन, हात्ती जस्ता अन्य जङ्गली जनावरहरूले पनि अन्नबालीमा क्षति पु¥याउने गरेको स्थानीयहरूको भनाइ छ । त्यसमा पनि बाघले गोठमै बाँधिएका चौपाया खाइदिन थालेपछि समस्या झन् जटिल बनेको छ ।

स्थानीय बासिन्दाहरूको माग छ, ‘निकुञ्ज क्षेत्रसँग जोडिएका बस्तीमा विद्युतीय मेसवायर जडान गरियोस, जसले गर्दा जङ्गली जनावरको मानविय बस्तीमा प्रवेश रोक्न सकियोस ।’ वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार निकुञ्ज छेउमै बस्ती भएकाले स्थानीय किसानले बर्सेनि हैरानी खेप्नुपर्छ, विद्युतीय तार जडानका लागि पटकपटक माग गरिरहेका छौँ, तर अझै काम अगाडि बढ्न सकेको छैन, बढ्ने अश्वासन पाइएकाले काम अघि बढनेमा विश्वस्त छौँ ।

उनका अनुसार वडाको बजेटले नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको छ । यसै आर्थिक वर्षभित्र केही क्षेत्रमा मेसवायर जडान हुने जानकारी पाइएको छ । जङ्गली जनावर नियन्त्रणका लागि स्थायी समाधानका लागि प्रभावकारी सुरक्षामूलक संरचना र सक्रिय निकुञ्ज प्रशासनको समन्वय अपरिहार्य भएको उनले बताए ।