Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पाल्पा तानसेनमा एकल महिलाको उठिबास, वडादेखि नगरपालिकाको बदमासी

पाल्पाको तानसेन नगरपालिका वडा नं. १ की एकल महिला कुन्ता बस्याललाई तत्कालिन वडाअध्यक्ष तुलसी गिरीलगायतले घरबारविहिन बनाउन लागेको पीडितले बताएकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आफ्नो जग्गाको भाउ बढाउन गिरीसहितका व्यक्तिहरुले आफ्नो एक रोपनी जग्गाको बीचमा जबरजस्ती सडक खनेको पीडितको आरोप छ ।

व्यक्तिगत जग्गाको बीचमा सडक खनेर अन्याय गरेको बताउँदै बस्यालले भनिन्, ‘श्रीमानको पैतृक सम्पत्तिका नाममा भएको १ रोपनी जग्गालाई पनि सर्बजनिक गरेपछि अब म कहाँ जाउँ?, अब त मर्नुको विकल्प के नै रह्यो र?’  आफ्नो नाममा लालपूर्जा भएको जग्गाको बीचमा सडक खन्न थालेपछि आफूले न्यायका लागि नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालयमा जाँदा पनि तत्कालिन जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीलेसमेतले अध्यक्ष गिरीलाई साथ दिएको पीडित बस्यालले बताइन् । बस्यालले भनिन्, ‘नगरपालिका र वडाका जनप्रनिधिहरुलेसमेत धाकधम्की मात्रै हैन छोडेर जा भन्दै कुटपीट गरी सडक खने ।’

आफूले हारगुहार माग्दै लामो समयसम्म न्यायका लागि लड्दा पनि कसैले साथ नदिएको दुखेको गर्दै उनले भनिन्, ‘तुलसी गिरी, दुर्गा नेपाली, पोशकान्त बस्याल, बालानन्द बस्याल, मिना बस्याल, मित्रलाल घिमिरेसहितका व्यक्तिहरुले मेरो जमिन वोरीपरीको आफ्नो जग्गाको भाउ बढाई बेच्नका लागि मेरो जमिनको बीचबाट सडक बनाउने षड्यन्त्रलाई न्यायालयले समेत वैधानिकता दिँदा अब म के गरुँ ?’ 

उनले थप भनिन्, ‘उनिहरुको निजी स्वार्थ र समृद्धिको लागि म एकल र एक्ली महिलाको उठिबास हुुनुपर्ने कहाँको न्याय हो ? नागरिकको अभिभावक वडा, नगरपालिका र समाज अनि अदालतले पनि मेरो पीडा, रोदन र चित्कारमाथि माज लिन मिल्छ ? के यो देशमा न्याय कतै मिल्दैन ? के हामी जस्ता होचा निमुखा गरिवहरुले बाँच्न पाउने अधिकार छैन ?’ आफ्नो नाममा भएको एकमात्रै बाँच्ने र गरिखाने आधारलाई स्थानीय सरकार, नगरपालिका, जिल्ला प्रशासन हुँदै न्यायालयले समेत खासेको बस्यालले बताइन् । आफू न्याय पाइने आशामा पाल्पाबाट काठमाडौं आएको बताउँदै बस्यालले न्यायका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार कार्यालयसँग बाँच्न पाउने अधिकार रक्षाको लागि गुहार समेत गरिन् ।

सोही जग्गामा ढुङगा माटोले बनाएको घर पनि सडक बनाएपछी धरापमा परेर बस्ने अवस्था पनि नभएको उनले बताइन् ।  यस विषयमा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठसँग बुझ्दा उनले सो विषय आफ्नो कार्यकालमा नभएको बताउँदै पन्छिए । तपाईँकै पालामा मुद्दा लड्नु भएको हैन र भन्ने प्रश्नमा उनले भने, ‘पुरानै प्रक्रियाअनुसार गएको हो, कानुनअनुसार केही गर्न सकिँदैन, बरु तपाईँले केही उपाय छ की सुझाउनुस् ।’ त्यसैगरी वडा अध्यक्ष सुनिलकुमार बस्यालले पनि आफ्नो कार्यकालमा भन्दा अघिल्लो अध्यक्षको पालमा भएको बताउँदै भने, ‘बिचरा उहाँ पीडित नै हुनुहुन्छ, तर के गर्ने हाम्रो हातमा केही पनि छैन ।’