भारतको अहमदावादमा भएको एयर इन्डियाको विमानको ब्ल्याक बक्सको अनुसन्धान शुरु गरिएको छ ।
भारतको नागरिक उड्डयन मन्त्रालयले विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले शिकागो कन्भेन्सन सम्झौता अनुसार एआई-१७१ विमान दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार, अनुसन्धानको लागि एएआइबीका महानिर्देशकको नेतृत्वमा एक टोली गठन गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिइएको छ । यसमा एक उड्डयन चिकित्सा विशेषज्ञ, एक हवाई ट्राफिक नियन्त्रण अधिकारी र अमेरिकी सरकारी अनुसन्धान एजेन्सी राष्ट्रिय यातायात सुरक्षा बोर्डका प्रतिनिधिहरू रहेका छन् ।
जुन १२ मा लन्डन जाँदै गरेको एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार २४२ यात्रुहरू मध्ये २४१ जनाको मृत्यु भएको थियो । यस दुर्घटनामा एक जना मात्र सकुशल बचेका थिए । यस दुर्घटनामा जमिनमा रहेका २९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयले ककपिट भ्वाइस रेकर्डर र उडान डेटा रेकर्डर दुवै बरामद गरिएको बताएको छ । ब्ल्याक बक्स २४ जुन २०२५ मा भारतीय वायुसेनाको विमानद्वारा पूर्ण सुरक्षाका साथ अहमदाबादबाट एएआईबी ल्याब दिल्लीमा ल्याइएको थियो ।
प्रयोगशालामा रहेका एएआईबी र एनटीएसबीका प्राविधिक सदस्यहरूको टोलीले सुरक्षित रूपमा डाटा निकालेको छ । यससँगै, सीभीआर र एफडीआर डाटाको विश्लेषण सुरु भएको छ ।