Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिंगापुरमाथि नेपालको शानदार जित, प्रसिद्धको अर्धशतक

एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरमाथि नेपालले ६ विकेटको शानदार जित हात पारेको छ। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालका लागि प्रसिद्ध जैसीले नटआउट सर्वाधिक ५५ रन बनाए । त्यस्तै रौनक श्रीवास्तवले सर्वाधिक ४० रन बनाए। सुभम खनाल अविजित रहँदै ९ रन बनाए। नेपालका ओपनर सुर्यांशु कोइराला भने ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए। सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिए। त्यस्तै युवान पाण्डेले १ विकेट लिए।

यसअघि मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६।१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनायो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए।

त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए। सिंगापुरलाई सस्तैमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए।त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए।

एसियाली क्रिकेट परिषद् ९एसिसी० को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन्। त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्।