Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

गृहमन्त्रीले राजीनामा दिने अवस्था आउँछः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउने बताएका छन् ।

आज (मंगलबार) चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए । ‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन सरकारसँग पनि रिलेटेड छ’ प्रचण्डले भने, ‘कम्तिमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’

प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे । प्रचण्डले बाबुरामले धेरै तह उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नु मात्रै रहेको जिकिर गरे । उनले एकता प्रक्रियामा बाबुरामलाई आफूले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणी गरेका छन् ।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको हो । गृहमन्त्रीकै पार्टी कांग्रेसका कतिपय नेताले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् । तर सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले उनले राजीनामा दिनु नपर्ने जिकिर गरेको छ । गृहमन्त्री लेखक स्वयंले भने पार्टीलाई अप्ठेरो पर्ने अवस्था भए आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।