Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

नेपाल राष्ट्र बैंकको भावी गभर्नरका रुपमा चर्चा भइरहेका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन्।

रिट दायर भए पनि दर्ता बाँकी नै रहेको जनाइएको छ। यसअघि उनीहरूले नै डा. गुणाकर भट्टलाई गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चममा रिट दायर गरेका थिए। त्यसअघि अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा भएको उमेर हद संशोधनविरुद्ध पनि रिट दायर गरेका थिए।

आज (मंगलबार) दायर रिटमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा भट्टको विकल्पमा अर्थशास्त्री डा. पौडेललाई ल्याउने सहमति भएको थियो । सोसँगै पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा दिइसकेका छन् ।

उनले अर्थमन्त्री एवं गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । डा. पौडेल २०७९ मा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन १ को उम्मेदवार थिए ।