आईएमई ग्रुपको लगानीमा नवलपुर गैंडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउँदै छ । २९ वैशाखमा औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने भएको छ ।
मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ रुम, १ हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायत सुविधा उपलब्ध छन् ।
केबुलकार सहित इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणी लगायत देवभूमि, तपोभूमि सहित सम्पदाको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटक समक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।
आईएमई ग्रुपले सातवटै प्रदेशमा केबुलकार, होटल तथा रिसोर्ट सहित पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।हालसम्म तीन वटा प्रदेशमा केबुलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटल सहित आयोजना नै सञ्चालनमा आइसकेका छन् ।
लुम्बिनी केबुलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबुलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।त्यहाँ अबको एक वर्षभित्र केबुलकार सञ्चालनमा आउने छ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै ताप्लेजुङ पाथीभरामा केबुलकार निर्माण प्रक्रियामा छ ।