Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

‘चौथो महांकाल कप–२०८२’ वैशाख ११ र १२ गते हुने, विजेतालाई नगद २५ हजार

 ‘चौथो महांकाल कप–२०८२’ यही वैशाख ११ र १२ गते हुने भएको छ ।  जय महांकाल युवा समूहको आयोजना हुने बास्केटबल प्रतियोगितामा १३ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

समूहका महासचिव  मनिष विश्वकर्माका अनुसार ह्विलचियर बास्केटबल प्रतियोगितामा ९ पुरुष टिम र ४ महिला टिम सहभागी बन्ने छन् ।  काठमाडौँ महानगरपालिका ४ चण्डोल स्थित विशाल मिलन केन्द्रको बास्केटबल खेल मैदानमा हुने प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, एपिएफको पनि सहभागिता रहने छ । 

WhatsApp Image 2025-04-21 at 15.14.45_9f5ca62d.jpg

विजेतालाई (महिला/पुरुष)लाई नगद २५ हजार, १५ हजार १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी र हाइ स्कोरर खेलाडीले दुई हजार र ट्रफी प्राप्त गर्नेछन् ।  प्रतियोगितामा सहभागी बन्ने करिब दुई सय खेलाडी र व्यवस्थापकलाई आयोजकले यातायात, खाना र आवासको व्यवस्था मिलाएको छ ।

प्रतियोगिता अवधिमा नायिका श्वेता खड्का, एलिजा गौतम, गायक दुर्गेश थापा, कलाकारहरू माया थामी, रिना थापा मगर, अस्मिता रानापाल, मुकेश नेपाली, शशिकला राई, अञ्जु सुनार, इन्दु थामी, कृष्ण मगर, सारा कार्की, मनु थामी, विमला थामी लगायतले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

WhatsApp Image 2025-04-21 at 15.14.45_1e2ba5b4.jpg

२०७६ सालमा स्थापना भएको जय महांकाल युवा समूहले अपाङ्गता भएका व्यक्तिहरूको जीवन उत्थान र सशक्तीकरणका लागि ह्विल चियर बास्केटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यो वर्षदेखि महिला टिमलाई पनि बास्केटबलमा सहभागी गराइएको विश्वकर्माले जानकारी दिए ।

करिब ९ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा केही सङ्घसंस्थाले साथ दिएका छन् । यद्यपि, प्रायोजकको उत्साहजनक साथ नपाएको आयोजकले गुनासो गरेको छ ।

WhatsApp Image 2025-04-21 at 15.14.43_36b217d7.jpg

जय महांकाल युवा समूह कोरोना कहरको समयमा दिन दुखीको सेवाको स्थापना भएको र निरन्तर भोकालाई भोजन, प्यासीलाई पानी भन्ने नारा सहित अघि बढेको अध्यक्ष लिला नाथ भण्डारीले बताए । समूहले कोरोना कालदेखि गंगबु क्षेत्र र पशुपति क्षेत्रमा निःशुल्क खाना र पानी वितरण गर्दै आएको छ ।