Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

उपचारका क्रममा ज्यान गुमाएकी भीमाको परिवारलाई कर्णाली प्रदेश अस्पतालले क्षतिपूर्ति दिनु पर्ने

दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएको एक वर्षपछि अदालतले क्षतिपूर्तिको फैसला सुनाएको छ ।

२०८० चैतमा पेट दुखेर निजी अस्पताल हुँदै प्रदेश अस्पताल पुगेकी उनलाई प्रसूतिको क्रममा पाठेघरमा सालनाल बाँकी रहेको भन्दै डाक्टरहरूले पाठेघर सफा गर्नुपर्ने बताएका थिए । शल्यक्रियाका लागि तयारी गर्दागर्दै उनलाई मृत घोषणा गरिएको थियो ।

०८१ वैशाख १७ गते जेठाजु धनबहादुर मगरले अधिवक्ता शेरबहादुर खत्रीको साथमा अस्पतालका तत्कालीन निर्देशक डम्बर खड्का र शल्यक्रियामा संलग्न डा. ललितजङ्ग शाहीविरुद्ध मुद्दा हालेका थिए ।डाक्टरहरूको लापरबाही, त्रुटिपूर्ण शल्यक्रिया र हेलचेक्र्याइँका कारण भीमाको ज्यान गएको जिकिरसहित उनीहरूले क्षतिपूर्तिको माग गरेका थिए । ठिक एक वर्षपछि ०८१ साल चैत २९ गते, सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले फैसला सुनाए– भीमाका पति र छोरीलाई प्रतिवादीहरूबाट १५ लाख रूपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेका हुन् ।

‘भीमा फर्किदिनन्, तर कम्तीमा न्यायको अनुभूति भयो,’ जेठाजु धनबहादुरले भने । त्यतिबेलाको घटना सम्झिँदै धनबहादुर भन्छन्, ‘हामी बाहिर पर्खिरहेका थियौं । एक्कासी रगत चाहियो भनेर मागे । केही समयमै शव बुझ्न भनियो ।’ उनी भन्छन्, हिँडेरै आएकी मान्छे कसरी बितिन् ? पत्याउन सक्ने अवस्था थिएन ।’

भीमाको मृत्यु डाक्टरको लापरवाहीले भएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए । एक महिनापछि उनीहरूले शव बुझेका थिए ।