नयाँ २०८२ को पहिलो दिन अरु घुमफिरमा रमाइलो गरिरहेका बेला शिक्षकहरु भने काठमाडौंको सडकमा विरोध प्रदर्शनमै उत्रिएका छन् । १२ औं दिनदेखिको प्रदर्शनलाई शिक्षकहरुले आज सोमबार पनि जारी राख्दा काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नगरेको र सदनमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन् । जसका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवागमन अस्तव्यस्त भएको हो ।
आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी सञ्चालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा भइरहेको आन्दोलमा शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वसम्म प्रदर्शन गरिरहेका छन् । उनीहरु देशभरका सबै सामुदायिक विद्यालय नै बन्द गरेर आन्दोलनमा होमिँदा देशभरका लाखौं विद्यार्थी पढाइबाट बञ्चित भएका छन् भने काठमाडौंको सवारी आवगमन समेत प्रभावित बनेको छ । शिक्षकहरु प्रस्तावित विधेयकमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।