Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जग्गाको बैना गर्न लगेको ६० लाख लुटपाट, २० जना पक्राउ

प्रहरीले पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख लुटपाट गरेको आरोपमा २० जनालाई पक्राउ गरेको छ। लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बौद्ध बस्ने रितेश लामाको ६० लाख लुटपाट भएको थियो । जग्गाको बैना गर्न लगेको उक्त रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।

जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले प्रहरीलाई बताएका छन् । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार भएको थियो ।

पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले बयान दिएका छन् । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ । उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।