Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

वीरगञ्ज झडपः २५ सुरक्षाकर्मी र दर्जन बढी स्थानीय घाइते

हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगञ्जमा प्रहरीले दुई राउण्ड हवाई फायर र २५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । घण्टाघरदेखि दक्षिणतर्फ वीरगञ्ज–३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो ।

त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए।झडपका क्रममा छपकैयाका दुई वटा बिरियानी हाउस, केही मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो। बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरियो। त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ।

jhadap-parsha2025-04-12-19-39-20.jpg

अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको एसपी गौतम मिश्रले जानकारी दिएका छन् । सो क्रममा मिश्र र सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन बढी स्थानीय घाइते भएका छन् । अहिले वीरगञ्जमा कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बेलुका ६ः३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । पूर्वमा भेडियाही चोक, उत्तर गण्डक चोक, पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगन्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । हनुमान जयन्तीका अवसरमा प्रत्येक वर्ष यहाँ शोभायात्रा हुने गरेको छ ।