Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पूर्वराजालाई संसदीय समितिमा बोलाउन प्रस्ताव

सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका छन्। 

सत्ता साझेदार नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका हुन् । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताएका हुन् ।

कानून समितिको बैठकमा बोल्दै उनले पूर्वराजालाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन? भन्नेबारे सोध्नुपर्ने बताए । परियारले पूर्वराजालाई एउटा नागरिकको हैसियतले यस्तो गर्न पाउनु हुन्छ? भन्दै सोध्नलाई समितिमै ल्याउनुपर्ने तर्क गरेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको बताए ।

परियारले थपे, ‘हिजो हामीले १०४ वर्षे राणा शासन एउटा जहानियाँ थियो । एउटा परिवारको थियो । तत्कालीन शाहहरू पनि खोपीमा थिए । राजाहरूको अवस्था के थियो एकपटक सम्झियौँ त । त्यसपछि ३० बर्षे एकदलीय पञ्चायती व्यवस्था थियो । राजाले प्रत्यक्ष शासन गर्थे, कति सुशासन र स्थायित्व थियो । त्यो हामी सबैले बुझेका छौं । राजाको छोरा राजा हुने व्यवस्था थियो । राजाको छोरी राजा हुने व्यवस्था थिएन । बेलायतको जस्तो होइन नेपालको राजतन्त्र, यो कुरा पनि ख्याल गर्नुपर्छ ।’