Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

चैतको भलले भत्कियो करोडौंको पक्की पुल

सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–२ अमाह खोलाको करोडौंको पक्की पुल चैतको भलले भत्काइ दिएको छ । मिर्चैया–कटारी–घुर्मी सडक योजनाअन्तर्गत निर्माणाधीन सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो निर्माणाधीन पक्कीपुल बुधबार रातिको बाढीले बीचैमा भाँचिदिएको हो ।

बेमौसमी पानी परेको र त्यसैको बाढीका कारण पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पुगेको योजना प्रमुख पशुपति ज्ञवालीले बताए । उनले भने भने, ‘प्रिस्थेस प्रविधिको उक्त पुलले लोड लिनका लागि ढलान भएको २८ दिनपछि केबल हाल्नुपर्ने थियो । ढलान भएको २० दिन मात्रै भएको थियो, २८ दिन पुगेपछि केबल राखेर तानेपछि मात्रै पुलले लोड बहन गथ्र्यो । यस्तो मौसममा पानी आउँछ भन्ने कसैलाई अनुमान भएन, अचानकको वर्षाले ह्यूमपाइपबाट बग्ने भन्दा ठूला बाढी आएर पुलमा क्षति भयो ।’


सूर्य कन्सट्रक्सन धरानको जिम्मामा रहेको उक्त पुल तयार नहुँदै बाढीले क्षति गरेपछि स्थानीयले पुनः वर्षामा बाढीकै सामना गर्नुपर्ने भएको छ । प्रमुख ज्ञवालीले पुल भत्किनु प्राविधिक त्रुटि नभई अप्रत्याशित मौसम भएको बताएका छन् ।
भत्किएको पुल पुनर्निर्माणको दायित्व निर्माण कम्पनीकै हुने उनले बताए । उनले भने, ‘पुलको इन्स्योरेन्स रहेकाले उक्त क्षतिको ‘कभर’ त्यहीँबाट हुन्छ, तर, त्यसका लागि समय लाग्छ ।’ पुरै भत्काएर बनाउनु पर्ने भएकाले यो वर्ष पुल बन्न सक्ने अवस्था नरहने उनले बताए । ‘हाम्रो योजना यो वर्षामा यातायात चलाउने भन्ने नै थियो,’ उनले भने, ‘प्रकृतिले साथ दिएन अब अर्को वर्षका लागि लम्बियो ।’

सडक विभागले ७२ किलोमिटर लामो मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति तथा विस्तारका लागि ईआईए स्वीकृत गरेर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । त्यसका लागि करिब ९ अर्ब ४७ करोड लाग्ने अनुमान गरिएको जनाइएको छ। योजना अन्तर्गत ४ वटा लामो पुल र ७ वटा सानो पुल, २ सय ८९ वटा पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने छ ।