Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

उद्यमी–व्यवसायीको मनोबल अझै बढाउनुपर्छः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको बताएका छन् । तर, उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको उनले बताएका छन्। अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन्।

देशभरका करिब २४० उद्यमी व्यवसायीसँग गरिएको सर्वेक्षणमा उनीहरूको मनोबल बढ्न नसकेको पाइएको अध्यक्ष ढकालले बताए । ‘यो प्रतिवेदन हामी छिट्टै सार्वजनिक गर्नेछौं । व्यक्तिगत रूपमा भन्ने हो भने म प्रतिकूलतामा अनुकूलता खोज्ने उद्यमी हुँ’, बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ को समारोहलाई सम्बोधन गर्दै ढकालले भने, ‘म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर, हाम्रा युवाहरूको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन ।’

उनले महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पूरा हुँदै गर्दा यसबीचमा विविध चुनौतीलाई अवसरमा बदल्न प्रयत्न गरिएको स्मरण गरे । नयाँ अवसरहरूको खोजी र निराशा चिर्ने प्रयास गरिएको अध्यक्ष ढकालले बताए । उनले धेरैमा आफूहरू सफल भएको उल्लेख गर्दै सुधारको प्रयास अझै जारी रहेको बताए ।

‘लगातारको प्रयत्नपछि पछिल्लो त्रैमासमा ५ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन आएको छ । यो सकारात्मक छ । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरू सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो’, ढकालले भने, ‘हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सीमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ । निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर, हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन ।’

त्यस कारण युवाहरू जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका ढकालले बताए । सरकारको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।