Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राजु पाण्डेलाई निलम्बन गर्न पाँच कर्मचारी संगठनको माग

काठमाडौं महानगरका कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिका समक्ष ११ बुँदे माग अघि सारेका छन्। उनीहरूका मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित छ ।

‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्’, कर्मचारीहरूको माग छ ।

उक्त दिन महानगर प्रहरी बलका प्रमुख पाण्डे आचरणविपरीत उत्रिएको ठहर गर्दै कर्मचारी संग–संगठनले तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरिएको छ । ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन् ।

मेयर बालेनसँग नजिकको सम्बन्ध कायम राख्दै समृद्ध महानगर बनाउन चाहने प्रतिवद्धता जनाउँदै उनीहरूले मेयरको सचिवालयका कर्मचारी र सल्लाहकारहरूबाट वितृष्णा जगाउने र आम कर्मचारीले असहयोग गरेको दिलाउने गरी अफवाह फैलाउने प्रवृत्ति मौलाएको आरोप लगाएका छन् । कानून विपरीतका र कानूनले नचिनेका समिति, संस्था प्रणालीभन्दा बाहिरका मानिसलाई जागिर खुवाउनका लागि बनाइएका संयन्त्र खारेज गर्न पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् ।