Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

गणतन्त्रको सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौं, प्रचण्ड पछि आउनु भएको होः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी युद्ध छोडेर आएको बताएका छन् ।

आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताएका हुन् । उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे ।

कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए । उनले पछिल्ला घटनाक्रमहरुप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे ।

पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ। पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौती दिए। अध्यक्ष नेपालले भने, ‘एउटा राम्रो कुरा मैले सुनें । राम्रो कुरा के हो भने त्यो उनको पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन । अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ । अरुले पनि फाइदा उठाउन खोजेका रहेछन् ।’

अध्यक्ष नेपालले राजाहरुले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गरे। उनले जनताले रोजेको व्यक्तिभन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताए । वंशको शासन कहिले पनि राम्रो नहुने उनको भनाइ छ । पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै प्रश्न गरे ।

अध्यक्ष नेपालले थपे, ‘राजालाई फर्काउने कोशिस गरिरहेका छन् । राजतन्त्रलाई फेरि नेपालमा फर्काउने कुरा गरिरहेका छन् । राजा आएर हुन्छ के ? राजाहरुले हिजो के काम गरेका थिए र उनलाई ल्याउनुपर्‍यो ? उनले देशको विकासलाई कुन नयाँ बाटोमा लिएर गएका थिए ? जनताले रोज्नु भन्दा र रोजेको भन्दा कुनै वंशको शासनले देशको भलो गर्नसक्छ । कुनै तथ्य, तर्कले पुष्टि गर्दैन । फेरि राजा फर्काउने कुरा भनेको इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्ने हो । वंशको शासन कहिले पनि राम्रो हुँदैन ।’

अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताए । उनले राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गरे । उनले एमाले-कांग्रेस-नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सुरक्षा दिए पनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारको आलोचना गरे । आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।