Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दाङका पानी उद्योगमा छैनन् प्रयोगशाला

दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो ।

तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन दिएको कार्यालयका सूचना अधिकारी विवेककुमार सुवेदीले बताए । ‘हामीले जिल्लाका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगको अनुगमन गर्‍यौँ’, उनले भने, ‘तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौँ ।’

सूचना अधिकारी सुवेदीका अनुसार प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य छन् । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ अनुसार प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रसायनिक विश्लेषण मान्यताप्राप्त प्रयोगशालाबाट गराउनुपर्ने कुरा उल्लेख छ । तर, यसमा पानी उद्योगले ख्याल नगरेको उनको भनाइ छ ।

‘उद्योगहरुले ‘आरो मेसिन’ बाट पानी प्रशोधन गरेर सिधै बजार पठाउने गरेका छन् । तर, उपकरणमा केही समस्या आएमा त्यो पानी शुद्ध छ की छैन, भनेर प्रयोगशालामा मात्रै परीक्षण गरेर बजार पठाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन’, सूचना अधिकारी सुवेदीले भने । जिल्लामा हाल १२ पानी उद्योग सञ्चालनमा छन् । तीमध्ये तुलसीपुर–९ स्थित ‘भद्रकाली ड्रिङ्किङ वाटर’ले प्रयोगशाला सञ्चालनमा ल्याएको सूचना अधिकारी सुवेदीले बताए । ती सबै उद्योगलाई प्रयोगशालाको व्यवस्था गर्न लिखित निर्देशन दिइएको उनले बताए । जिल्लामा २० पानी उद्योग दर्ता छन् ।