Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

तीन महिना १४ दिनपछि कार्यकक्षमा पुगेर हाजिर गरे काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले तीन महिना १४ दिनपछि कार्यकक्षमा पुगेर हाजिर गरेका छन् । बिहीबार (चैत २१) तनावबीच उनी कार्यालय पुगेका हुन् ।

महानगरमा हाजिर गरेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन् । मन्त्रालयको बैठकमा सहभागी हुन आफू त्यहाँ जान लागेको उनले बताए । उनी महानगरकै वातावरण व्यवस्थापन विभागको गाडीमा चढेर मन्त्रालयतर्फ लागे । उनको गाडीमा महानगरको नगर प्रहरी बलले ‘ह्वील लक’ लगाएको छ ।

नगर प्रहरीले लगाएको ताला फोडेर उनी कार्यकक्षमा प्रवेश गरेका थिए । उक्त ताला फोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो । मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको कार्यपालिका बैठकबाट उनलाई त्यहाँ प्रवेश गराउने निर्णय गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनीता डंगोलले गरेकी थिइन् । गुरागाईं कार्यालय जाने चर्चाबीच नगर प्रहरीले बिहीबार बिहान उनको कार्यकक्षमा ताला लगाएको थियो ।

कार्यालय प्रवेशमा पनि उनलाई नगर प्रहरी रोक्ने प्रयास गरेको थियो । तर, महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा उनी कार्यालय प्रवेश गरेका थिए । गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए । मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो ।

महानगरले गुरागाईंमाथि छानबिन गर्न यसअघि तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको थियो ।