शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जब २८ वर्षपछि मानबहादुर टुप्लुक्कै घर आइपुगे...

जब २८ वर्षपछि मानबहादुर टुप्लुक्कै घर आइपुगे...

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • जब २८ वर्षपछि मानबहादुर टुप्लुक्कै घर आइपुगे...

    राजेन्द्रप्रसाद पनेरु। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किएलान् भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् ।

    त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो । भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुगेका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुगे । उनीसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ ।

    त्यसपछि उनी महेन्द्रनगर बजार हुँदै झलारी बजार झरे । चिनजानका व्यक्तिसँग भेट भयो । तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाए । चिनजानकै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पुर्‍याइ दिन आग्रह गरे । अटो चालकले धानुकलाई घरमै पुर्‍याइदियो । यो गत शनिबारको कुरा हो । धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उनको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा छिन् । भारतकै बनारस बस्ने उनै धर्म आमा र उनकी १३ वर्षीया नातिनी पनि धानुकसँगै आएका छन् ।

    धानुकले भने, ‘छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँशु बगाउन थाले, खुशी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुशी छु ।’ घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुगेका उनको गतिलो कमाइ थिएन । काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो ।

    ‘कामकै खोजीमा कहिले यता पुग्थे, कहिले उता’, विगत सम्झँदै उनले भने, ‘घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थे‌, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ ।’ उनका अनुसार राजस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो । ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो। त्यहाँ दुवै जनाको आउजाउ थियो । ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाए । त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थाले ।

    ती वृद्धाका छोरा थिएन, उनले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गरिन् । ‘सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरें’, उनले भने, ‘तिनै बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगँे, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन । परिवारलाई भेटन पाउँदा निकै खुशी छु, अब भारत फर्किन्न ।’

    धानुकका छोरा गणेशबहादुर ३३ वर्षको भए । यो उमेरमा बुवा पाउँदा खुशीको सीमा नै नरहेको उनी बताउँछन् । ‘सानै छँदा बुवाले छाडेर जानुभएको थियो’, उनले भने, ‘अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुशीयाली छ।’ धेरै वर्षपछि घर आइपुगेका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ। स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उनकी धर्म आमाको महत्वपूर्ण भूमिका रहेको बताउँछन्। उनले भने, ‘उहाँको धर्म आमाको कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुशी छौँ ।’ धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाइ र भतिजा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार