Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भाटभटेनीमा तोडफोडबाट ८० लाखको क्षति, ६५ लाखको सामान लुटपाट

काठमाडौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको बताइएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनकाबीच प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए । त्यस्तै भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् ।

भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । सीओओ पौडेलका अनुसार दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ ।

काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको उनले बताए । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।