Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राजावादीको प्रदर्शन उग्र बनेपछि सडकमा नेपाली सेना

 सरकारले उपत्यकाको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेपछि नेपाली सेना सडकमा निस्किएको छ। आज (शुक्रबार) राजावादीहरूले तीनकुने क्षेत्रमा उदण्ड मच्चाएपछि सरकारले तीनकुने क्षेत्रमा १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ । लगत्तै सेना सडकमा देखिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले तनावग्रस्त तीनकुने क्षेत्रमा सेना पठाइएको जानकारी दिए ।

तीनकुने क्षेत्रमा आज राजावादीले प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र हुँदा तीनकुने क्षेत्रमा व्यक्तिका घर र कार्यालयहरूमा आगजानी र तोडफोड भएको छ । कर्फ्यु आदेश जारी भएसँगै जिल्ला सुरक्षा समितिको बैठकले सेना खटाउने निर्णय गरेको हो ।

काठमाडौँ प्रशासनले गौशालादेखि विमानस्थल, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर क्षेत्र, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, बानेश्वरचोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरेको छ ।


कर्फ्यु अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मलाई आदेश जारी भएको प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले यस अवधिमा यी क्षेत्र आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन बैठक र घेराउ गर्न नपाउने बताएको छ ।