Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए सडकमा जान्छौंः प्रचण्ड

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले सदनमा आएर चित्तबुझ्दो जवाफ नदिए सडक जाने चेतावनी दिएका छन् ।

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न पटक–पटक प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको उनले स्पष्ट पारे । त्यस दिनको बैठकमा कुलमानबारे कसैले एक शब्द चर्चा नगरको प्रचण्डले जिकिर गरे । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् ।

‘लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न नदिने हामीले भनेका छौं । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ ।’