Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सेन्टर प्लाजाको आगलागीमा फसेकाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइयो

इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासी आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ ।

भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । आगो लागेको सूचना पाउना साथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।

बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।

भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पुर्‍याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृह मन्त्रालयले जनाएको छ ।