काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल नजिकै मेलिसा मार्गमा सोमबार भएको दुई समूहको झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भएर काठमाडौंको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय तामाङ छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहराका अनुसार होलीमा भएको विवादले झगडाको रूप लिएको अनुसन्धानबाट खुलेको छ । दुवै समूहका युवाहरू खुकुरी र रड बोकेर हानाहान गरेका थिए । रड प्रहारबाट घाइते अभयको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
झगडामा मकवानपुर घर भई पुरानो नैकापमा बस्ने चक्रे भन्ने पवन तामाङ, चन्द्रागिरि घर भएका २२ वर्षीय पासाङ तामाङ शेर्पा र नागढुङ्गा बस्ने २३ वर्षीय सन्दीप भुजेल घाइते भएका छन् । उनीहरूको शहीद मेमोरियल र ओम समाज अस्पतालमा उपचार भइरहेको एसपी बोहराले दिए । घाइतेहरूको टाउकोलगायत शरीरका अन्य भागमा चोटपटक लागेको छ ।
एसपी बोहराका अनुसार पक्राउ परेका १५ जनाको ‘स्क्रिनिङ’ भइरहेको छ । ‘प्रहरी तत्काल घटनास्थलमा पुगेर १५ जनालाई नियन्त्रणमा लिएको छ, घटनामा को–को संलग्न थिए भनेर स्क्रिनिङको काम भइरहेको छ,’ बोहराले भने, ‘झगडामा संलग्न युवाहरूको आनीबानी पहिल्यैदेखि राम्रो नभएको सूचना प्रहरीले पाएको छ ।’ तामाङलाई ज्यान मार्ने उद्देश्यले नै आक्रमण गरेको प्रहरीले जनाएको छ ।