Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव –२०२५’

अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ। नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो ।

कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यान्बेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुङ्गिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो । सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसंस्था, स्थानीय अष्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गालागार, केन्द्रीय सांसद डेभिड स्मिथ, कूटनीतिक नियोगका प्रमुखहरू, अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका बहुसासंस्कृतिकमन्त्री माइकल पेटरसन र यातायतमन्त्री क्रिस् स्टिललगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो ।

नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउने अभियानका रूपमा सन् २००९ देखि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाले नेपाल महोत्सव आयोजना गर्दै आएको अध्यक्ष अनिल पोखरेलले बताए। अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवले क्यान्बेराको नेपालीले राम्रो गरिरहेको र नेपाली समुदायले नेपाल र नेपालीलाई गर्वको महसुस गराएको बताइन् ।