Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

भन्सार छलेर ल्याएको १९ थान आईफोनसहित एक पुरुष पक्राउ

काठमाडौंको न्यूरोडबाट प्रहरीले भन्सार छलेर ल्याएको आईफोन सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय मोहमद शाकिव खान छन्।

उनको साथबाट भन्सार छलेको १९ थान आईफोन सहित विभिन्न कम्पनीका २९ थान मोबाइल बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए। काठमाडौं महानगरपालिका–६ ग्राण्डी बस्दै आएका खानले नक्कली नेपाली नागरिकता पनि बनाएको आशंका गरिएको छ। नागरिकता नम्बरको आधारमा त्यसबारे पनि अनुसन्धान भइरहेको एसपी आचार्यले बताए।

उनलाई भन्सार छलेको मोबाइल बेचविखन गरेको कसुरमा कारबाही गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ। त्यसपछि लिखत सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाइने एसपी आचार्यले जानकारी दिए ।