Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आठ महिनामा वीरगञ्ज सुक्खा बन्दरगाहबाट कति संकलन भयो राजस्व?

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व संकलन गरेको छ । 

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।

कार्यालयले गत साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो। असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो । 

यसैगरी, गत मंसिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड र फागुनमा रु चार अर्ब ६८ करोड राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ ।