Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

उच्च अदालत बुटवलमा रविको निवदेनमा भएन सुनुवाई

रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन उपर आज सुनुवाई नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन् । सभापति लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतको आदेशविरुद्ध दिएको छुट्टाछुट्टै निवदनमा एकै पटक सुनुवाई हुने गरी आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको थियो ।

मुद्दा सुनुवाईका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर हिजै रुपन्देही पुगेका थिए । गोला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टको इजलासमा सुनुवाई समेत तोकिएको थियो । तर, मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितको मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि आज सुनुवाई नभएको हो ।

उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई जिल्ला अदालत रुपन्देहीले थुनामा राख्न दिएको आदेशलाई उच्चका न्यायाधीश थापाले केही समय अगाडि सदर गरेका थिए । सोही कारण जिल्लाबाट आएको सोही प्रकारको मुद्दामा आफ्नो धारणाा बनिसकेकाले आफूले हेर्न नमिल्ने बताएपछि पेसी अर्को हप्ताका लागि सारिएको छ ।

न्यायाधीश थापाको भनाइपछि आदालतबाट बाहिरिएका लामिछाने, उनका कानून व्यवसायी र सचिवालयका सदस्य आजै काठमाडौं फर्किएका छन् । यता लामिछानेले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश विरुद्ध भोलि (शुक्रबार) पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।