Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एकिकरण नेपाल गोरखाको पहलमा झण्डै ४ करोडमा बन्यो प्रभात किरण विद्यालय भवन, तामुरा गरे उद्घाटन

एकिकरण नेपाल गोरखाले जापान सरकार परराष्ट्र मन्त्रालयको अनुदान सहयोग एवं चाइल्डफण्ड जापानको प्राविधिक सहयोगमा निर्माण गरेको प्रभात किरण माद्यमिक विद्यालय हिजो एक औपचारिक कार्यक्रम विच हस्तान्तरण भएको छ । नेपालको लागि जापानको दुतावासको चार्ज डी अफ्यर एड इन्टेरियम तामुरा ताकाहिरो तथा गाँउपालिकाको अध्यक्ष लक्ष्मण गुरुङले संयुक्त रुपमा भवन उद्घाटन गरि विद्यालयलाई उक्त भवन हस्तान्तरण गरेको हो ।

२०७२ सालको भुकम्प पछि निर्माण बाँकी रहेको उक्त विद्यालय विद्यालय, वडा कार्यालय, गाँउपालिकाको अनुरोधमा एकिकरण नेपाल गोरखाले निर्माण सम्पन्न गरेको हो । झण्डै ४ करोड लगानीमा बनेको उक्त विद्यालयमा एकिकरण नेपाल गोरखाले ८ वटा कक्षाकोठा, ग्याविन पर्खाल, कक्षाकोठा फर्निचर, खानेपानीको व्यवस्था, खेलमैदान लगायतको काम सम्पन्न गरेको एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।

7cf96302-923c-469f-9c92-2e19fe49feb9.jpeg

उद्घाटन कार्यक्रममा बोल्दै नेपालको लागि जापानको दुतावासको चार्ज डी अफ्यर एड इन्टेरियम तामुरा ताकाहिरोले गोरखाको दुर्गम गाँउमा आएर विद्यालय बनाउन पाउँदा खुशी व्यक्त गरे । उनले विद्यालय भवन निर्माण भएपछि बालबालिका सुरक्षित रुपमा विद्यालय पढ्न पाउने हुँदा यसले पढाईको गुणस्तरमा समेत सुधार आउने अपेक्षा व्यक्त गरे । गाँउपालिकाको अध्यक्ष लक्ष्मण गुरुङले एकिकरण नेपाल गोरखा, चाइल्डफण्ड जापान र जापानी नागरिकहरु प्रति कृतज्ञता व्यक्त गर्दै सुरु भएको ९ महिनामै यति धेरै काम भएकोमा संस्थाप्रति आभार व्यक्त गरे ।

साथै उपाध्यक्ष सुनिला गुरुङले गाँउपालिका एकिकरण नेपाल गोरखाको कामको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा कृषि, आयआर्जन, रोजगारी, स्वास्थ्य र अन्य विषयगत क्षेत्रमा काम गर्न इच्छुक रहेको कुरा व्यक्त गरिन । कार्यक्रममा चाइल्डफण्ड जापानको कार्यक्रम निर्देशक मासाहिरो, नेपालको निर्देशक आङ पासाङ शेर्पा, वडा अध्यक्ष राकेश गुरुङ, विद्यालयको प्रधानाध्यापक जीत बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।