क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज (चैत ५ गते) बाँडफाँट भएको छ ।
प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुलाएको थियो । जसमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए ।
रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये १ लाख ८४ हजार ५ सय जनालाई १०–१० कित्ताका दरले परेको छ भने बाँकीको हात खाली भएको छ । त्यस्तै १० हजार १२६ जनाको आवेदन रद्द भएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट एफपीओको नतिजा हेर्न सक्नेछन् ।
त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपियाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपियाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपियाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै कर्मचारीहरूका लागि ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता पनि बाँडफाँट गरिसकेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।