Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

‘रत्नाकर महाविहार’ मा तामाको छाना लगाइँदै

ललितपुरको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो । उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्षपहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका–१६ मा सारेको इतिहास छ ।

उनी भन्छन्, ‘रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । विसं २०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिङ्गिटीको छाना लगाइएको थियो । झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र बाँदरले सजिलै क्षति गर्ने भएकाले हाल तामाको छाना लगाउँदैछौँ ।’

हाल कुल लागत रु २८ लाख ९८ हजार ८७९ मा आगामी वैशाखमा काम सक्नेगरी छाना फेर्ने काम सुरु भएको छ । जसअनुसार बाग्मती प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, पर्यटन विकास आयोजनाअन्तर्गत रु २५ लाख ९६ हजार १५१ बजेट छभने सम्पदा संरक्षणका लागि रत्नाकर महाविहार उपभोक्ता समितिले रु तीन लाख दुई हजार ७२७ व्यहोर्ने भएको छ ।

ललितपुरको अधिकांश ऐतिहासिक सम्पदामा हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा डोरीले क्षति पु–याउने गरेको र झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा पानी चुहिने समस्या झेल्नु परेको रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचार्यले बताए । नेवारी संस्कारअनुसार गुठीअन्तर्गतका विभिन्न कार्यक्रम महाविहारमा आयोजना गरिन्छ । नेवारी समुदायको परम्पराअनुसार महाविहारमा भेटघाट र भोज हुने गर्छ ।