Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सात किलो सुन तस्करीमा जेल बसेर छुटेका लामा २५ करोडसहित पक्राउ

आज (मंगलबार) बिहान चीनको केरुङतर्फ लगिँदै गरेको स्रोत नखुलेको २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट छहरेको बाटो हुँदै अगाडि बढ्न खोज्दा एक ट्रकलाई नियन्त्रणमा लिई अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो ।

नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुनसक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । उनी यसअघि सुन तस्करी प्रकरणमा समेत पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनी सात किलो सुनसहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

आज बिहान ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ । ‘कसले पठाएको, कहाँ लगेको र किन लगेको भन्ने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ’, उनले भने ।