Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सामुदायिक वनको डढेलो बस्तीमा पस्यो

भोजपुर नगरपालिका–१२ पारपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेको छ ।

बस्तीमा डढेलो फैलिएपछि पैंयापानीमा सात घर जलेर नष्ट भएका छन् । आगलागीबाट कालीदास चापागाईको पाली, शोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबहादुर कार्कीको घर र पाली जलेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वार्टर टक्सारले जनाएको छ ।

दिउँसो साढे १२ बजेबाट डढेलो बस्तीमा पसेको हो । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको भोजपुरका डीएसपी युवराज तिमिल्सिनाले बताएका छन् । सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहे पनि निभाउन नसकिएको उनले बताएका छन् ।


हावाहुरीका कारण बस्ती जोगाउन समस्या भएको उनको भनाइ छ । सोमबार बिहान साढे ९ बजेतिर टङङे डाँडाको इनामे सामुदायिक वनबाट डढेलो सुरू भएको थियो । अहिले प्रहरी, सेना र एपीएफको टोली त्यस क्षेत्रमा खटिएको छ ।