Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कर्णाली नदीमा कामदार बेपत्ता

ड्रमको डुंगा चढेर कर्णाली नदी तर्ने क्रममा एक कामदार बेपत्ता भएका छन् । कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा काम गर्ने मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बिहान कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

१० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्दै आएका सेजुवाल सोमबार बिहान कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालिकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिएका छन् । ‘तीन वटा ड्रम जोडेर बनाइएको डुंगा चढेर नदी पार गर्ने क्रममा नदीमा खसे,’ उनले भने, ‘चार जना चढेको डुंगा ढल्किँदा देवनाथ नदीमा खसेछन् ।’


उनले स्थानीय र प्रहरीले खोजी गरिरहेको भए पनि नभेटिएको जानकारी दिए । कर्णाली करिडोरको कालिकोट पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विष्फोटनसहित नेपाली सेनाले जिम्मा लिएर निर्माण गरिरहेको छ । उक्त सडक हाल घुमाउरो बाटो हुँदै नानिकोटको बोलु गाउँबाट घाटपारी चौर झारिएको छ । कर्णाली नदीको तीरैतीर ट्याग खुलेपछि १० किलोमिटर छोटो पर्छ ।