Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रभु बैंकले मुक्तिनाथ मन्दिरमा सुरु गर्यो भीम युपिआई सेवा

प्रभु बैंकले मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ गरेको छ । मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम युपिआई सेवा शुभारम्भ गरेका हुन् ।

अब भक्तजनहरूले मुक्तिनाथ मन्दिरमा डिजिटल भुक्तानीको सहज सुविधा अनुभव गर्न सक्नेछन्। उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्।

मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

Photo-.jpg

साथै क्रस–बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा गभर्नर अधिकारीले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने बताए ।

उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । राष्ट्र बैंक ’डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नविनतम प्रविधिहरूको प्रवद्र्धनमा निरन्तर प्रतिबद्ध रहेको उनको भनाई छ ।

उनले डिजिटल भुक्तानी प्रविधिलाई नेपालभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउने उल्लेख गरे । सोही अवसरमा प्रभु बैंकका प्रतिनिधिहरूले बैंक प्रविधिमा निरन्तर अग्रसर रहेको जानकारी गराउँदै बैंकले देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको र देश–विदेशमा उत्कृष्ट रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको बताए।