Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व संकलन

घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ । 

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार संकलन भएको छ । 

विभागले गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख, भदौमा रु तीन अर्ब नौ करोड, असोजमा रु तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु तीन अर्ब ८७ करोड, पुसमा रु चार अर्ब २५ करोड २२ लाख र माघमा रु तीन अर्ब ८७ करोड २४ लाख राजस्व संकलन गरेको थियो । 

मालपोत कार्यालय कलंकीले गत फागुनमा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिलले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले रु ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरेनी, चितवनले रु तीन करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको विभागले जनाएको छ ।