Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

सर्लाहीको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए । घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए ।

एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ। यसैबीच आज यहाँ मनाइँदै गरेको होलीपर्वलाई लिएर विषेश सुरक्षा सतर्कता अपनाइएको सर्लाहीका प्रहरी उपरीक्षक रबिहन्द्रबहादुर सिंहले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन अपिल गर्दै उनले नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको लागि ठाउँठाउँमा प्रहरी टोली जाँचका साथै मोबाइल गस्ती टोली खटाइएको बताए ।