Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वुमन्स डे कपमा आज नेपालले हङकङसँग खेल्दै

युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।


आजको लागि नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट रहेका छन् । हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ ।

नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।