रास्वपा सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।
मंगलबार न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
निर्वाचन आयोगले ०७९ कात्तिक १२ मा नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा कार्कीले २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ गतेसम्म भ्रमण भत्तास्वरूप एकलाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको कारण देखाएर उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कार्कीलाई सार्वजनिक पद धारण गरेको व्यक्ति ठहराउँदै आयोगले प्रतिनिधिसभा सदस्यको उमेदवार अयोग्य रहेको निष्कर्ष निकालेको थियो ।
आयोगको निर्णयविरुद्ध ०७० कात्तिक १४ मा उनी सर्वोच्च पुगेकी थिइन् । उनको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिदिएका थिए ।
त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएका थिए । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।