प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक हिसाबले कोसी प्रदेश अत्यन्तै सुन्दर रहेको बताएका छन् ।
मंगलबार कोसी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा ओलीले आफैँ निर्वाचित भएको प्रदेश भएकाले आफूलाई कोसीबारे जानकारी रहेको बताए । ओलीले कला संस्कृति, जातजाति, हिमाल आदि धेरै विषयले कोसी प्रदेश महत्त्वको भएको चर्चा गरे । कोसीबाट ऐतिहासिक सभ्यता सुरु भएको र प्राकृतिक हिसाबले सुन्दर प्रदेश भएको ओलीको भनाइ छ । “प्रकृति, पुर्खा र इतिहासप्रति हामी गर्व गर्न सक्छौँ,” उनले भने ।
ओलीले कोसी प्रदेशको मुख्य नदी सप्तकोसीमा फुल्चोकीदेखि रोशी हुँदै र साँगाको ढलदेखिको पानी आउने गरेको सुनाए । उनले हलेसी, पाथीभरा, अर्जुनधारा, किचकबध, बर्जुतालको चर्चा गरे । ती क्षेत्रको साइनो द्वापर युगसँग भएको ओलीको भनाइ छ ।
सगरमाथा संवादको विषय वातावरण, हिमाल र विकाससँग सम्बन्धित भएको बताउँदै ओलीले हिमाल पर्यटन बढाउने लक्ष्य रहेको बताए ।