Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजा फर्काउन एयपोर्ट पुगेका कमल थापाको स्वीकारोक्ति: लोकतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन, जनताले निरंकुशता खोजेको होइन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्वीकारेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको पनि उनले बताएका छन्। 

मंगलबार सामाजिक संजालमा थापाले लेखेका छन्, ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुनसक्दैन। त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन।’

जनताले लोकतन्त्र नै तर राजासहितको खोजेको थापाको बुझाइ छ। उनले थप लेख्छन्, ‘राजासहितको लोकतन्त्र खोजेको हो। लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो। मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो। राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’  

गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो। आइतबारको र्‍यालीको उपस्थितिलाई लिएर कतिपय राजतन्त्र पक्षधरहरू झन् उत्साहित छन्। त्यसअघि ७ फागुनमा पूर्वराजा शाहको अभिव्यक्तिले उनीहरू उत्साहित थिए।